काठमाडौं । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले हमासले बन्धक बनाएका मध्ये १३ जना शुक्रबार दिउँसो ३ बजे रिहाइ हुने जनाएको छ । रिहाइ हुनेको नाम सार्वजनिक गरिएको छैन ।
कतारका अनुसार इजरायल र हमासबीचको युद्ध विराम शुक्रबार बिहान ७ बजेबाट हुनेछ । चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको छ । त्यसवापत् इजरायलले आफ्नो जेलमा रहेको १५० जना प्यालेस्टेनीलाई रिहाइ गर्नेछ ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले दोहामा आयोजित पत्रकार सम्मेलनमा रिहाइ हुनेमा महिला र बालबालिकालाई पहिलो प्राथमिकता दिइएको बताए ।
‘विशुद्ध मानवीयताको आधारमा महिला र बालबालिकालाई प्राथमिकता दिइएको हो । उनीहरुलाई जतिसक्दो छिटो सुरक्षित रूपमा बाहिर निकाल्नु छ’, उनले भने,‘एउटै परिवारका बन्धकहरूलाई एउटै समूहभित्र सँगै राखिनेछ ।’ उनले रिहाइ हुनेको नामावली तयार गरिरहेको बताए ।
डेढ महिना लामो युद्ध अस्थायी रूपमा रोक्दै एकअर्काले बन्धक बनाएकाहरूलाई रिहा गर्न इजरायल र हमासबीच सहमति भएको हो ।
इजरायल र हमासबीच वार्ताका लागि मध्यस्थता गरिरहेको कतारले आगामी २४ घण्टाभित्र युद्ध विरामको घोषणा हुने जानकारी दिएको थियो । साथै यो युद्ध विराम थप लम्बिन सक्ने पनि कतारले जनाएको छ ।
इजरायल र कतारबीचको सहमतिअनुसार हमासले बन्दी बनाएकामध्ये पहिलो चरणमा ५० इजरायली बन्धक रिहा हुने भनिएपनि १५ जना पर्ने भएका हुन् ।
जसमा बन्धक बनाइएका महिला तथा बालबालिकालाई छाडिने छ । बन्धक रिहाइका लागि इजरायलले चार दिन अस्थायी रूपमा युद्ध रोक्ने छ । गत अक्टोबर ७ मा आक्रमणपछि हमास समूहले नेपालका विपिन जोशीसहित करिब २ सय ४० जनालाई बन्धक बनाएको छ ।











आफ्नो प्रतिक्रिया दिनुहोस् !