काठमाडौं । काठमाडौंमा आज (आइतबार)देखि पुनः द्रुत बस सेवा सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म आइतबारदेखि पुनः द्रुत बस सेवा सञ्चालन गर्ने जनाएको छ ।
पुनः द्रुत बस सेवा सञ्चालनका लागि ठाउँ–ठाउँमा बोर्ड राखिएको तथा सडकमा मार्किङ गरिएको ९रातो रङ लगाइएको छ । यस्तै, द्रुत सेवाका लागि ११ वटा बसहरु थप गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले थप ११ वटा बससहित पहिले भन्दा व्यवस्थित तरिकाले द्रुत बस सेवा पुनः सञ्चालनमा ल्याइने दाबी गरेका छन् ।
आइतबारदेखि ३६ वटा द्रुत बस सञ्चालनमा आउने र ती बस ३–३ मिनेटको फरकमा छुट्ने मन्त्री ज्वालाले बताए । बिहान र बेलुकी आवागमनको उच्च समय (पिक आवर) मा द्रुत बस कम भएको गुनासो आएकाले बसको सङ्ख्या थपेर चलाइने उनले स्पष्ट पारे ।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले द्रुत बस सेवा सञ्चालनका लागि यसअघि करिब तीन करोड रुपियाँ खर्च भएको बताए । उनले अहिले पुनः सञ्चालनका लागि भएको खर्चबारे सार्वजनिक हुने बताए । द्रुत बस सेवा सञ्चालनको सम्पूर्ण जिम्मेवारी यातायात व्यवस्था विभागको रहेको उनले बताए ।
काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जामका बीच सार्वजनिक सवारी प्रयोग गर्ने यात्रुलाई छिटो गन्तव्यमा पुग्न सजिलो होस भन्ने उद्देश्यले गत असोज ३ गते, संविधान दिवसका दिनदेखि सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालनमा ल्याइएको थियो । तर दशैंदेखि भने उक्त सेवा स्थगित भएको थियो ।











आफ्नो प्रतिक्रिया दिनुहोस् !