काठमाण्डौ । कोभिड जोखिमका कारण बन्द रहेको अस्ट्रेलिया उडान खुलेको छ । जोखिम बढेपछि अष्ट्रेलियाले दुई वर्ष देखि अन्तराष्ट्रिय सिमा बन्द गरेको थियो ।
कोभिडको जोखिम कम हुँदै गएको र खोपको मात्रा पनि पुरा हुँदै जान थालेपछि दुई वर्षपछि पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ । तर अष्ट्रेलिया जानुपर्ने विदेशी नागरिकले केही स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्ने छ । कोरोनाभाइरस विरुद्ध पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो ।
कोभिडको कारण देखाउँदै सन् २०२० को मार्चमा बन्द गरेपछि देशमा यात्रासम्बन्धी कडा प्रतिबन्ध लगाइएको थियो । अस्ट्रेलियालीहरू र अरू केहीलाई गत वर्षको अन्त्यबाट फर्कन अनुमति दिइएको थियो । तर, अधिकांश विदेशी फर्किन पाएका थिएनन् । सयौँ मानिस उडानमार्फत आउन थालेपछि सिड्नी विमानस्थलमा सोमबार मानिसहरूको भावपूर्ण पुनर्मिलन भएको थियो ।
सोमवार साँझसम्म अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अनुमान गरिएको छ । ‘सरकारले अस्ट्रेलियालीहरूको स्वास्थ्यलाई सुरक्षित राख्दै आर्थिक सुधारलाई सुनिश्चित गर्नेछ,’सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ। नयाँ व्यवस्था अनुसार खोपको पूर्ण मात्रा लगाएका यात्रुहरू क्वारेनटिनमा बस्नुपर्ने छैन ।
तर, खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ । उनीहरू वेस्टर्न अस्ट्रेलियाबाहेकसबै राज्यमा आवत जावत गर्न पाउनेछन् । अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेशको अनुमतिसँगै पर्यटकहरुको प्रबाह बढ्ने विश्वास गरिएको छ । सन् २०१९ मा अस्ट्रेलियामा झन्डै ९५ लाख विदेशी पर्यटकले अस्ट्रेलियाको भ्रमण गरेका थिए । अस्ट्रेलियामा कोभिडका कारण अहिलेसम्म करिब ४,९०० जनाको मृत्यु भएको छ ।











आफ्नो प्रतिक्रिया दिनुहोस् !