काठमाण्डाैं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद समाधानभन्दापनि विवादतर्फ उन्मुख भएको छ । आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुलाई हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएका छन् ।
तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारिसकेको छ । नेपाल पक्षधर नेताहरुले बरु राजनीतिबाट सन्यास लिने र आत्महत्या गर्ने तर देउवाको पक्षमा गरेको हस्ताक्षर कुनैपनि हालतमा फिर्ता नलिने प्रतिक्रिया दिएका छन् ।
आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी भएका छन् । उनले आफू एकताको पक्षमा उभिँदै आएको बताएका छन् । तर, एकताको लागि सबै नेता गम्भीर बन्नुपर्नेमा उनले जोड दिए । नेता गौतमले माधव नेपालसहितको एकताको लागि प्रयास गर्नुपर्ने पनि धारणा राखेका थिए ।
अध्यक्ष ओली २०७५ जेठ २ गते फर्किएपछि नेपाल पक्ष दबाबमा परेको छ । नेपाल पक्षधर युवा नेताहरुले यो बीचमा एकताको लागि ठोस सहमति गर्ने प्रयाससमेत गरेका थिए । तर, हिजो बसेको नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठकले आजको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।
आजको बैठकमा नेपाल पक्षधर कोही पनि सदस्य सहभागी छैनन् । बैठक सुरु हुनुभन्दा अघि नेपाल पक्षधर केही नेताहरु भने ओलीसँग छलफलको लागि बालुवाटार पुगेका थिए ।
एमालेनिकट विश्वस्त सुत्रका अनुसार पछिल्लो समय नेपाल पक्षका युवा नेताहरु घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, योगेश कुमार भट्टराई, भीम आचार्य र गोकर्ण विष्टमध्ये घनश्याममात्रै नेपालको पक्षमा छन् । बाँकी चार नेता पछिल्लो समय ओली क्याम्पमा जाने तयारीमा छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !