जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले ५ लाख २२ हजार कित्ता साधारण शेयर (सामुहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गरेको छ।
निष्काशन आज मिति २०७८ माघ २१ गते देखि २५ गते बैंकिङ्ग समयसम्म खुल्ला रहने छ। रितपूर्व आवेदन नआए निष्काशन मिति २०७८ फागुन ६ गते सम्म खुल्ला रहने छ। कम्पनीको जारी पूंजी रु.१६ करोडको ३२.६३% अर्थात रु.५.२२ करोड बराबरको प्रति शेयर रु.१०० अंकित दरका ५ लाख २२ हजार कित्ता साधारण शेयर मध्ये २६ हजार १ सय कित्ता अर्थात ५% शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको तथा ८ हजार कित्ता अर्थात जारी पूंजीको ०.५% शेयर कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने ४ लाख ८७ हजार ९ सय कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आउन लागेको हो।
इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम ५,२२० कित्तासम्म आवेदन दिन सक्नेछन। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
क्रेडिट रेटिङ्ग
जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडलाई ईक्रा नेपाल लिमिटेडले [ICRANP-IR] BB ग्रेडिङ्ग प्रदान गरेको छ जसले कम्पनीको वित्तिय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम (moderate risk) रहेको [ICRANP-IR]BB (Pronounced as ICRA NP issuer rating Double B) जनाउँदछ।
ईक्रा नेपाल लिमिटेडले “(ICRANP-IR) AAA” देखि “(ICRANP-IR) D” सम्मको ग्रेडिङ्ग प्रदान गर्दछ। जसमा ग्रेड “ICRANP AAA” ले सकारात्मक आधार जनाउँछ भने “ICRANP D” ले नकारात्मक आधारहरु जनाउँछ। [ICRANP-IR] B, [ICRANP-IR] C र [ICRANP-IR] D ले औसत भन्दा कम आधार जनाउँछ भने दिइने आधारहरुमा प्रयोग गरिने (Plus) चिन्हले दिइएको समुहको तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ।
कम्पनीको परिचय
जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेड र महिला सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड बीच मर्जर भई मिति २०७७ मंसिर १६ गते देखि औपचारिक रुपमा एकिकृत कारोबार गर्दै आएको जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड २०७५ भाद्र ३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त गरी मिति २०७५ चैत्र १ गते देखि वित्तिय कारोबार गर्दै आइरहेको छ ।
विपन्न वर्ग एवं न्यून आय भएका व्यक्तिहरुमा स्वरोजगारीको अवसर सृजना गर्नका लागि लघुकर्जा र लघु बचतका माध्यमबाट आर्थिक एवं सामाजिक कृयाकलापहरुमा सहभागी गराई उनीहरुलाई आर्थिक एवं सामाजिक रुपले सशक्त बनाउनुको साथै धितो नभएकै कारण वित्तीय सेवाबाट बञ्चित गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई सामुहिक जमानीमा वित्तीय सेवा उपलब्ध गराई व्यवसायिकरणको विकास गर्ने र सामाजिक सचेतना बढाउने उद्देश्य लिएर स्थापना भएको लघुवित्तले २४ जिल्लामा ८७ शाखा कार्यलयहरु बाट सेवा प्रवाह गरीरहेको छ।
संचालक समीति
श्रीजना बिकास केन्द्र, नेपाल महिला सामुदायिक सेवा केन्द्र, प्राइम कमर्सियल बैंक लिमिटेड, ज्योति बिकास बैंक, पोखरा फाइनान्स र अन्य व्यक्तिगत लगानीकर्ताहरुले प्रबर्दन गरेको लघुवित्तको संचालक समीतिको अध्यक्षता श्री वीर बहादुर अधिकारीले गरेका छन भने अन्य ४ जना संचालकहरु पनि संचालक समीतिमा रहेका छन।
आई. कमसम्म अध्ययन गरेका अधिकारीसँग श्रीजना बिकास केन्द्र, श्रीजना बैंकिङ्ग कार्यक्रमको कार्यकारी प्रमुखको रुपमा १४ वर्ष काम गरेको अनुभव रहेको छ भने हाल जनप्रिय क्याम्पसको उपाध्यक्ष समेत रहेका छन्। यस्तै, कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मा २०७७ मंसिर १६ गते देखि बिमला योगीले सम्हाल्दै आएकी छिन्।
वित्तीय कारोबार सुरु गरेको ३ वर्ष पुग्न लाग्दा जाल्पा सामुदायिक लघुवित्तले राम्रो प्रगति गरेको छ। आर्थिक वर्ष २०७७/७८ को अपरिष्कृत वित्तिय विवरण अनुसार कम्पनीको शेयर पूंजी रु.१०.७८ करोड रहेको छ। आ. व. २०७६/७७ मा रु.७ करोड रहेको चुक्ता पूंजी महिला सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड सँग मर्ज भए पश्च्यात पूंजी रु.१० करोड माथि पुगेको हो।
राष्ट्रिय स्तरमा कारोबार गर्ने लघुवित्तले पुर्याउनु पर्ने न्युनतम चुक्ता पूंजी पुर्याइसके पनि बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ अनुसार संस्थाले आफ्नो कुल जारी पूंजीको कम्तीमा ३०% शेयर सर्वसाधारणलाई जारी गर्नुपर्ने प्रावधान रहेकोले हाल लघुवित्तले रु.५.२२ करोड बराबरको शेयर सर्वसाधारण (कर्मचारी सहित) को लागि निष्काशन गर्ने प्रकृयामा रहेको छ। सार्वजनिक निष्काशन पश्च्यात लघुवित्तको शेयर पूंजी रु.१६ करोड रहने छ।
लघुवित्तमा अधिकांश लगानी श्रीजना बिकास केन्द्रको रहेको छ। संस्थाको कम्पनीमा ३१.८३% लगानी रहेको छ। यस्तै, नेपाल महिला सामुदायिक सेवा केन्द्रको २३.९३% लगानी रहेको छ भने प्राइम कमर्सियल बैंक लिमिटेड (६.१०%), ज्योति बिकास बैंक (५.२३%), पोखरा फाइनान्स (५.२३%), गीता कुमारी योगी (१.८६%) को मुख्य लगानी रहेको छ। आर्थिक वर्ष २०७७/७८ अनुसार, कम्पनीको जगेडा तथा कोषहरु रु.३७.७१ करोड रहेको छ जसको वर्षिक वृद्धिदर (CAGR) १५५.४१% रहेको छ।
शेयर पूंजीमा २४.१०% र जगेडा तथा कोषहरुमा १५५.४१% को वृद्धि सँगै कुल शेयरधनी कोष १०४.४०% ले वृद्धि भई रु.४०.९४ करोड कायम रहेको छ। यस्तै, लघुवित्तले व्यवसाय तर्फ उलेख्य प्रगति गरेको छ। समिक्षा अवधिमा कम्पनीले रु.२.१२ अर्ब निक्षेप र रु.१.१९ अर्ब कर्जा सापट लिई कुल रु.३.३२ अर्ब पूंजी परिचालन गरी रु.३.६० अर्ब कर्जा प्रवाह गरेको छ। पूंजी परिचालन र कर्जा प्रवाहको वृद्धि अघिल्लो वर्षको तुलनामा क्रमश ८३.८३% र ७६.४१% रहेको छ।
संचालनको छोटो अवधिमै उत्कृष्ट प्रतिफल कमाउन सफल लघुवित्तले आ. ब. २०७७/७८ मा रु.४१.९१ करोड व्याज आम्दानी गरेको छ जसको वार्षिक वृद्धिदर (CAGR) १३६.२९% रहेको छ। लघुवित्तले खुद व्याज आम्दानी, कुल संचालन आम्दानी र संचालन मुनाफाको वृद्धि सँगै खुद नाफामा उल्लेख्य १३८.२१% को वृद्धि गरी रु.१०.४३ करोड कमाउन सफल भएको हो।
यस्तै, प्राथमिक शेयर निष्काशन पश्च्यात कम्पनीको चुक्ता पूंजी रु.१६ करोड पुग्नेछ भने आ. व. २०८०/८१ सम्ममा लघुवित्तले आफ्नो जगेडा तथा कोषहरु रु.७१.४० पुर्याउने प्रक्षपण गरेको छ जुन चुक्ता पूंजीको ४४६% भन्दा धेरै हुनेछ। यस्तै, कम्पनीले बजारमा आफ्नो हिस्सा बढाउन र अन्य लघुवित्तसँग प्रतिस्पर्धा गर्न आफ्नो व्यवसायमा आक्रामक वृद्धिको रणनिति अपनाउने देखिन्छ। प्रक्षपण अनुसार लघुवित्तले आगामी ३ वर्षमा रु.४.०१ अर्ब निक्षेप र रु.२.८२ अर्ब कर्जा सापट गरी जम्मा रु.६.८४ अर्ब पूंजी संकलन गरेर रु.७.३८ अर्ब कर्जा प्रवाह गर्नेछ। सोही आर्थिक वर्षमा रु.१ अर्ब व्याज आम्दानी गर्ने र खुद नाफामा पनि वृद्धि गरी रु.१८.०५ करोड आर्जन गर्ने लघुवित्तले लक्ष्य लिएको छ।
वित्तीय अनुपातहरु
आर्थिक वर्ष २०७७/७८ मा रु.९६.७६ रहेको लघुवित्तको प्रति शेयर आम्दानी चालु आ. व. २०७८/७९ को दोश्रो त्रैमासमा बढेर रु.१०७.६५ पुगेको छ। यस्तै, प्रति शेयर किताबी मुल्य २०७७/७८ मा रु.३७९.८६ कायम रहेकोमा दोश्रो त्रैमासमा बढेर रु.४३९.२८ कायम हुन आएको छ। आईपिओ निष्काशन पश्च्यात शेयर संख्या बढ्न गई प्रति शेयर आम्दानी र प्रति शेयर किताबी मुल्य घट्ने देखिन्छ। कम्पनीले लक्ष्य अनुसार प्रगति गरेमा आ. व. २०८०/८१ मा प्रति शेयर आम्दानी रु.११२.८७ र प्रति शेयर किताबी मुल्य रु.४९३.६२ कायम हुने देखिन्छ। यस्तै, कम्पनीको अन्य वित्तिय अनुपातहरु पनि राम्रो अवस्थामा रहेको देखिन्छ।
पूंजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio), निष्कृया कर्जा अनुपात (NPL) र अन्य वित्तिय अनुपातहरु राष्ट्र बैंकको मापदण्द भित्र र अन्य लघुवित्तको तुलनामा राम्रो अवस्थामा रहेको छ। यस्तै, लक्ष्य अनुसार प्रगति गर्न सकेमा कम्पनीले निकत भविष्यमानै शेयरधनीहरुलाई आकर्षक लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ।
हाल २४ जिल्लाहरुमा ८७ शाखा कार्यालयहरु ३ वटा संकलन केन्द्रहरु, १४ वटा अनुगमन कार्यालयहरु र २ वटा प्रदेश कार्यालय स्थापना गरी लघुवित्त कारोबार गर्दै आइरहेको कम्पनीले प्राथमिक निष्काशनबाट प्राप्त हुने रु.५.२२ करोड बराबर रकमको ९.५८% भौतिक पूर्वाधार तथा शाखा विस्तार गर्न खर्च गर्नेछ भने अन्य रकम पशुपालन तथा कृषि कर्जा, खुद्रा व्यापार र सेवा कर्जा, र साना तथा घरेलु उद्योग कर्जा प्रवाह गर्नमा उपयोग गर्नेछ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !