इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले कार्यालयमै सेवाग्राहीलाई थुनेका छन् । बुधबार मेयर चौधरीले कार्यालयमै एक सेवाग्राहीलाई बोलाएर अस्वभाविक रुपमा थुनेका हुन् । इटहरी–४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यालयमै बोलाएर मेयर चौधरीले पैनीमाथि घर किन बनाएको भन्दै ध’म्कीपू’र्ण शैलीमा थुनेका हुन् ।
‘सातदिनभित्र घर भत्काउने कि थुनिदिऊँ’ भनेपछि मैले आफ्नो घर किन भत्काउने भनेर मेयरलाई प्रश्न गरेको हुँ’ पीडित ढकालले भने,‘घर नभत्काउने भनेपछि नगर प्रहरीद्वारा अमानवीय व्यवहार देखाएर दुई घण्टासम्म थुनिएको छ ।’
मेयर चौधरीले तत्काल थुन्न भन्दै नगर प्रहरीलाई निर्देशन दिएका थिए । दिउँसो ३ बजेदेखि उनलाई दुई घण्टासम्म नगरको एक कक्षमा थुनिएको थियो । तर, मेयर चौधरीले ढकाललाई बस्दै गर्नु भनेर कामले कार्यालयबाहिर निस्केको अनि ढकालले नै आफूलाई मेयरले थुनेको भन्दै झुठो आरोप लगाएको मेयर चौधरीको दावी छ ।
यो घटना पछि मेयर द्वारिकलाल चौधरीको कार्यकक्षमा नेपाली काँग्रेस इटहरीले ताला बन्दी गरेको छ । चौधरीले सार्वजनिक जग्गामा घर बनाउनेलाई कार्यालयमा थुनेको भन्दै नेपाली कांग्रेस इटहरी नगर समितिले मेयर चौधरीको कार्यकक्षमा ताला बन्दी गरेको हो । मेयर सहित उपमेयर लक्ष्मी गौतमको कार्यकक्षमा पनि काँग्रेसले तालाबन्दी गरेको थियो ।
नेपाली काँग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले यसको अगुवाई गरेका थिए । नेता पौडेल सहित दर्जनौ कार्यकर्ता साथ इटहरी उपमहानगरपालिका पुगी इटहरी ४ आइतबारेका यामप्रसाद ढकालका पक्ष लिएका थिए । सार्वजनिक जग्गामा घर बनाएपनि यसरी थुन्नु चाँही नहुने त्यहाँ उपस्थित काँग्रेस कार्यकर्ताहरुको बिचार रहेको थियो ।
त्यसो त इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी बिभिन्न कारणले चर्चामा आइरहन्छन् । पछिल्लो पटक वडा कार्यालयको भवन उद्घाटनका क्रममा चर्चामा आएका थिए । अहिले भने एक सेवाग्राहीलाई कार्यालयमै बन्द गरेका कारण चर्चामा छन् ।
मंगलबार मात्र इटहरी– १३ मा निर्माणाधीन रिसोर्टको पर्खाल भत्काएका थिए । सार्वजनिक जग्गा मिच्न नपाउने भन्दै उनले अहिले सो क्षेत्रमा घर तथा पर्खाल भत्काउदै आएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !