कविता
शीर्षक:- “नेपाल आमा”
नेपाल आमाको छातीभित्र
गुम्सिएका अनगिन्ती पिडाहरु देख्दा
कताकता आफ्नै छाती दुखिरहेछ!
त्यो फोहोरी राजनीति जालोको चपेटामा अटाएर बाच्नु पर्ने
आज नेपाल आमा तिम्रो नियति बनेको छ।
यतिबेला आमा(नेपाल आमा)लाई हाँस्न खोज्दा हाँस्नै गार्हो
बाँच्न खोज्दा झनै सार्हो नियतिको खेल पो बनेको छ।
आमा तिम्रा ती देश सजाउने निर्दोष सुन्दर रहरहरु
छर्न र फलाउन नपाइ ओइलाउन लागेका छन् !
अनि
आफ्ना सन्तानका लागि चुपचाप सहेर बस्दाबस्दै
आफ्नै सन्तानको लागि पीडा खप्दाखप्दै
कहिल्यै निको नहुने रोग लागेर
झन- झन नेपाल आमा तिमी कमजोर बनिरहेकीछौ!
पीडा र ग्लानिको झ्याप्ट खप्दै
सन्तानका खुशी र रहरको लागि आफू लुटिएर खोक्रो भैंसक्दा पनि
निर्दोष कैदीझै विवशताको पर्खालले घेरिएर
नेपाल आमा तिमी बन्दी भएकी छौ!
तीन दशक अघि तिमीले भनेको कुरा बिर्सेको छैन आमा!
चैत्र, वैशाखमा ढकमक्क फुल्ने लालीगुराँसझै
छोराछोरीका रहरहरु काखमा फुल्न पाउनुपर्छ भनेर
अनि खुल्ला आकाशमुनि उड्ने ढुकुर र जुरेली उडेंझै
छोराछोरीका खुशीहरु फुल्न पाउनुपर्छ भनेर
तर आमा आज तिम्रा खुशी र रहरहरुमाथि
कतैबाट आक्रमण भएको छ!
तिम्रा ती देश सजाउने सपनाहरुमा
आँसु नै आँसुको बज्रपात भएको छ!
हिजो मुस्कानै मुस्कानले भरिने हृदय अनि शान्तिपन
आज कता – कता हराएर गएका छन्!
अहँ अब सहनु हुन्न नेपाल आमा
तिम्रा खुसीहरुमाथिको बज्रपात
तिम्रा देश सजाउने पवित्र भावनाहरुमाथिको क्रुर हस्तक्षेप !
हरपल आफ्नो अस्तित्व भुलेर
तिमीले केवल आफ्ना सन्तानका लागि बाँच्नुपर्ने!
कस्तो विवशता हो यो?
हरपल आफुलाई रुवाएर
तिमी कतिदिन परायहरुले आफ्नो जमिनमा कुल्चेको हेर्न सक्छेउ?
यसरी कतिदिन अरुको हस्तक्षेप सहेर बाँच्न सक्छेउ?
त्यसैले नेपाल आमा अब तिम्रा स्वाभिमानी छोराछोरीहरुलाई लिएर अब उठ,
देश बचाउने बेला आएको छ।
नालापानी, किल्ला काँगडामा बहादुरी देखाए जस्तै
अब आफ्नो अस्तित्व बचाउने बेला आएको छ।
अनि तिम्रा लागि फेरि यो जुझारुपूर्ण स्वतन्त्र संग्राममा
भिमसेन, बलभद्र र भक्ती थापाहरु जन्मनेछन्
त्यसैले नेपाल आमा अब
अब तिमी जाग्ने बेला आएको छ।
तिम्रो पराक्रम देखाउने बेला आएको छ।
कमला प्रसाईं
हाल अमेरिका
आफ्नो प्रतिक्रिया दिनुहोस् !