काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्षबीचको छलफल सकिएको छ । विवाद उत्कर्षमा पुगेपछि दोस्रो तहका नेतासहित ओली र नेपाल पार्टी कार्यालय धुम्बाराहीमा छलफलमा बसेका थिए ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमवार भएको छलफलमा ओलीले मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए । महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई जिम्मेवारीविहीन बनाउने तथा प्रदेश इन्चार्ज हेरफेर गर्ने निर्णय खारेज गर्न नेपाल पक्षले माग गरेको छ ।
बैठकपछि नेता रघुजी पन्तले कुराकानी सकारात्मक ढंगले भएको बताए । ‘हामीले आ आफ्ना अडान राख्यौं । यसरी वार्ता हुनुलाई पनि सकारात्मक रुपमा लिएका छौं । कुराकानी सकारात्मक भएको छ । फेरि पनि कुराकानी अगाडि बढाउने भन्ने छ,’ नेता पन्तले भने, ‘अध्यक्ष कमरेडले सकारात्मक रुपमा आगाडि बढाउनु हुनेछ भन्ने विश्वास छ । अदालतले सबैलाई एमाले बनाइदिएको हुँदा एमालेलाई एकताबद्ध बनाउने कुरामा अध्यक्षले जोड दिनुपर्छ ।’
नेता पन्तका अनुसार शुक्रबार ओलीपक्षको बैठकबाट भएका निर्णय विधानसम्मत नभएको र त्यो बैठकबारे आफूहरुलाई जानकारी नभएको अडान वार्तामा राखेको बताए । ओलीले एकलौटी रुपमा आफ्नो पक्षको बैठक राखेर निर्णय गरेपछि एमाले विवाद निर्वाचन आयोगसम्म पुगेको छ ।
यसअघि ओलीले नेपाललाई बालुवाटारमै भेट्न बोलाएका थिए । तर नेपालले पार्टी कार्यालयमा समूहगत रुपमा छलफल गर्ने भनेपछि ओली धुम्बाराही गएका हुन् । सोमबार बिहान ओलीले बालुवाटारमा एमाले नेताहरुका लागि चियापान कार्यक्रमको तयारी गरेका थिए । चियापानपूर्व नेताहरुबीच भेटवार्ता भएको हो ।
छलफलमा ओली समूहबाट महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्बाङसहितका नेताहरू सहभागी थिए भने नेपाल समूहबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी थिए । बैठकमा को को उपस्थित भए तल तस्विरमा हेर्नुहोस
आफ्नो प्रतिक्रिया दिनुहोस् !