एजेन्सी । सवारी दुर्घटनामा परी पोल्याण्डमा एक नेपालीको मृत्यु भएको छ । करिब ३ महिनाअघि रोजगारीका लागि पोल्याण्ड पुगेका मोरङ निवासी गोविन्द न्यौपानेको मृत्यु भएको हो ।
गैर आवासीय नेपाली संघ पोल्याण्डका अनुसार न्यौपानेको सोचचजेवमा सवारी दुर्घटनामा परी असामयिक निधन भएको हो । ‘उनको दुःखद घडीमा दिवङ्गत आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यो पनि हेर्नुस्ः ओमान पुगेका २४ नेपाली युवा अलपत्र
एजेन्सी । आकर्षक रोजगारीको प्रलोभनमा परी ओमान पुगेका २४ नेपाली युवा अलपत्र परेका छन् । विगत चार महिनाअघि ओमान पुगेका उनीहरूले सम्झौता अनुसारको कम्पनी नभेटिएको बताएका छन् ।
अल कौसर ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक अबुदल्ला ए टाक्सन र काजी मियाबाट १५० ओमानी रियल (करिब ५० हजार नेपाली रुपैयाँ) मासिक तलब दिने आश्वासन पाएर प्रति व्यक्ति १ लाख ५५ हजार हजारसम्म बुझाएर ओमान आएको उनीहरूले बताएका छन् ।
राम्रो कमाई हुने भन्दै ओमानको अल नसीम इन्जिनियरिङ् सर्विसेस कम्पनीको बिल्डिंग कन्ट्क्शनको कामका लागि भनेर पठाए पनि यहाँ आउँदा कम्पनी नै नभेटिएपछि एक सप्लाई कम्पनीमा काम गर्न थालेको र तीन महिना काम गरेपछि एक महिनाको तलब मात्रै पाएको उनीहरूले बताएका छन् ।
ओमानस्थित नेपाली दूतावासलाई समस्या बारे जानकारी गराए पछि दूतावासले कम्पनीलाई आफूहरूको समस्या समाधान गर्न एक हप्ताको समय दिएको भए पनि दुई हप्ता बितिसक्दा पनि कुनै सुनुवाइ नभएको पीडितहरूले बताएका छन् । आफूहरूलाई सकुशल उद्धार गरी स्वदेश फर्कने वातावरण मिलाइदिन र म्यानपावरका सञ्चालकलाई कारबाही गरी क्षतिपूर्ति दिलाइदिन उनीहरूले नेपाल सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !