जेठ ६, बुटवल । अष्ट्रेलिया बस्दै आएका रुपन्देहीको सियारी गाउँपालिका वडा नं ४ छपियाका सन्तोष अधिकारीले अघिल्लो सनिवार घरमा फोन गरेर अव अष्ट्रेलियाको बसाइ छोट्याउने बताएका थिए।
घरमा रहेकी ८४ बर्षिया हजुरआमा जयकला अधिकारी, आमा पुनम थापा अधिकारी र बुवा गणेश अधिकारीलाई भिडियो कल गरेर आउने दशैमा घर फर्किने सन्देश दिएका थिए। सन्तोषकी एउटी बहिनी छन्।
स्थानीय लिटिल फ्लावर ईंग्लिश सेकेन्डरी स्कुल सौ फर्साटिकरबाट एसईई दिएका सन्तोषले बुटवलको तिलोत्तमा क्याम्पसमा १२ कक्षा सम्म र बुटवलकै कालिकानगरमा रहेको क्षितिज ईन्टरनेशनल कलेजबाट स्नातक (बिबिए) उतिर्ण गरेका थिए।
२०७४ सालमा नवलपरासीको रजहरकी प्रतिमा थापा संग बिहे गरे लगत्तै अध्यायनका लागि गएका छोरा सन्तोष र त्यसको छ महिना पछि उतै गएकी बुहारी प्रतिमाआउने भएपछि अधिकारी परिवारमा खुसी छाएको थियोे।
तर अधिकारी परिवारको यो खुसी २ दिनपनि रहन पाएन। गणेश अधिकारी र पुनम थापा अधिकारीका एक्लो छोरा ३३ बर्षिय सन्तोष र २४ बर्षिय बुहारी प्रतिमालेले एकैसाथ सडक दुर्घटनामा ज्यान गुमाएपछि अधिकारी परिवार शोकमा डुवेको छ।
गत सोमवार नेपाली समय अनुसार सांझ ६ः३० बजे ड्युटी सकेर फर्केका सन्तोष र प्रतिमा सवार कारलाई चोकमा सडक पार गर्दै गर्दा तिव्र गतिमा हुईकिएर आएको कारले ठक्कर दिएको थियो।
सन्तोष र प्रतिमाले सडक दुर्घटनामा ज्यान गुमाएको खवर मंगलबार बिहान मात्रै अष्टे«लियामै रहेका आफन्त पुस्कर भुसालले काठमाण्डौमा रहेका बहिनी ज्वाईलाई दिएका थिए।
मृतक सन्तोषका दाई नाता पर्ने सुनिल अधिकारीले आफुहरुले घटनाको भोलीपल्ट बिहान जानकारी पाएको बताए। नाती बितेको थाहा पाए पछि हजुर आमा र आमालाई सम्हाल्नै गाह्रो भयो दशैमा आउछु हजुरआमा भनेर फोन गरेको नाती दुई दिनपछि बितेको खवर सुनाउदा को सम्हालिन सक्ला र ? सुनिलले भने।
सन्तोष र प्रतिमा एउटै एज्डकेयरमा काम गर्थे। सात समुन्द्र पारी पढन गएका छोरा बुहारीले काम गरेर राम्रै कमाई गरेका पनि थिए तर दैवको लिला यस्तै रहेछ दुवैजनालाई एकैपटक चुडेर लग्यो दाई नाता पर्ने सुनिलले भने।
मेलबर्न सहरको कोफिल्ड दक्षिणमा सोमबार राति उनीहरु हरियो बत्तिमा सडकको देव्रेतिर घुम्दै गरेको अवस्थामा अर्को दिशाबाट आएको विएमडब्लु कारले रेडलाईटमा नै उनीहरु सवार कारलाई ठक्कर दिएको थियो। २० वर्षीय एक युवकले चलाएको उक्त विएमडब्लु कार कम्तिमा पनि १ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा कुदाइएको स्थानीय प्रहरीले बताएको छ।
उक्त कारले ड्राईभर सिट भएकै ठाउँतिरबाट कारलाई ठक्कर दिएको थियो। उनीहरुले ठक्कर दिएको कारले उनीहरुलाई समेत ४० मिटर परसम्म घिसारेको थियो। जसका कारण उनीहरु दुवै जनाको घटनास्थलमै ज्यान गएको स्थानीय प्रत्यक्षदर्शीहरुले प्रहरीलाई जानकारी दिएका छन्।
दुर्घटना गराउने कारमा सवार चालक र अर्का एक व्यक्तिलाई समेत गम्भीर घाईते अवस्थामा अस्पताल भर्ना गरिएको स्थानीय प्रहरीले जनाएको छ।
मृतकहरु दुवैको पोष्टमार्टम भई सकेको र शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको मृतकका दाई नाता पर्ने सुनिल अधिकारीले जानकारी दिए।
आफ्नो प्रतिक्रिया दिनुहोस् !