एजेन्सी । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरू भएको छ।
कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक ६ गते आइतबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ ।
आइतबार बेलुकी ०५ः०४ बजेसम्म त्रयोदशी तिथि छ। त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ। बेलुकी ०५ः०४ बजेपछि चतुर्दशी तिथि लाग्छ। यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको छ। ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो’, उनले भने।
यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यसैगरी धनत्रयोदशी (धनतेरस) पर्व पनि आजै परेको छ। धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको छ। तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ।
यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !