एजेन्सी । नेपाल काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो । गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि उनि सोही अस्पतालमा उपचारारत थिए ।
पूर्व उद्योग मन्त्रीसमेत रहेका नेता जोशी काठमाडौँमा लोकप्रिय नेता थिए । सन्ताउन्न वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो । विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी काठमाडौँ क्षेत्र नं. ८ बाट विसं २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनि काँग्रेसका केन्द्रीय सदस्यसमेत हुन् ।
बुवा गजेन्द्रराज जोशी र आमा गीता जोशीबाट २०१८ साल असार ३ गते काठमाडौंमा जन्मिएका थिए । जोशी काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीति सुरु गरेका थिए । त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सचिव समेत भएका थिए । उनी नेविसंघ काठमाडौं जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य, सह महामन्त्री र महामन्त्री बनेका थिए । जोशी २०४८ सालको बुटवल अधिवेशनमा अध्यक्ष पराजित भएसँगै विद्यार्थी राजनीतिबाट पार्टीको राजनीति प्रवेश गरेका थिए ।
नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको छत्र छायाँमा राजनीति गरेका जोशी २०४९ सालमा काठमाडौं महानगरको उपमेयर भएका थिए । पछि २०५६ सालमा युवा स्वरोजगारका कार्यकारी उपाध्यक्ष (राज्यमन्त्री सरह) भएका थिए । जोशीले त्यसै बखतमा युवा स्वरोजगारका क्षेत्रमा थुप्रै नीतिगत काम गरेका थिए । जोशीले २०५२ सालमा गणेशमान सिंहको जीवनीमा अध्ययन र अनुसन्धान गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठान खोले र गणेशमान सिंहको जीवनीमा आधारित वीर गणेशमान चलचित्र समेत निर्माण गरेका थिए ।
जोशीले २०६४, ७० को संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट विजयी भएका थिए । उनी पहिलो संविधानसभामा नेपाली काँग्रेस प्रवक्ता र सीमा अध्ययन समितिको संयोजक बनेका थिए । दोस्रो संविधानसभामा संविधान जारी भएपछि उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारमा उद्योग मन्त्री भएका थिए ।
अबको यात्रा आर्थिक समृद्धि भन्दै जोशीको अथक पहलमा २५ वर्षपछि अन्तर्राष्ट्रिय लगानी सम्मेलन नेपालमा आयोजना भएको थियो । मन्त्री हुँदा जोशीले बन्द उद्योग खोलाउने ,उद्यमशीलता युवा , उद्योगको विकास लगायत थुप्रै राम्रो काम गरेका थिए । उद्योग मन्त्री हुँदा जोशीले रुग्ण र बन्द अवस्थामा रहेका आठ वटा उद्योगलाई सञ्चालन गर्ने योजना अगाडि बढाएका थिए । उनका पालामा थुप्रै औद्योगिक अवरोधहरू हटाइ कानुनी सुधार पनि गरिएको थियो।
दुईपटक पार्टी केन्द्रीय सदस्य बनेका जोशी हाल पनि केन्द्रीय सदस्य थिए । आगामी भदौँ ७-१० का लागि निर्धारित पार्टीको १४ औं महाधिवेशनमा पार्टी महामन्त्रीमा उम्मेदवारी दिने गरी गृहकार्य अगाडि बढाइरहेका थिए । तर फागुन १४ मा मष्तिष्कघात भएर हस्पिटलाइज भए जोशी संसार बाटै विदा भएका छन् । मिजासिला ,बौद्धिक र क्षमतावान् नेता जोशी नेपाली काँग्रेसमा निष्ठावान् राजनीतिज्ञका रुपमा परिचित थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !