ढुङ्गा – रामकृष्ण काफ्ले
हे ढुङ्गा???
सजाएर राखेथें, माथि खोपामा ।
पूजेथें मनबाटै, चढाएर चन्दन, फूल र नैवेद्य ।
आफ्ना काम छोडिछोडी,
खोजिखोजी मौसमी बेमौसमी फलफूल,
तिमीलाई मनपर्छ भनी,
नदिएर बालबच्चालाई,
बिमारी र बृद्धबृद्धालाई ।
दानगरें भेटी नदिएर गरीबगुरूवा र माग्नेलाई ।
भाकलका नाममा, भोगका निहुमा ,
तिमीलाई, तिम्रा सन्तान र पत्नीलाई
गणेश र पार्वती मानेर ।
नन्दीभृङ्गीलाई, तिम्रा वाहन मानेर, दूत सम्झेर ।
भक्त भएर, भावुक बनेर ।
मानिन केवल ढुङ्गा र त चढाएँ,
महादेव मानेर दूध खोजिखोजी,
काली मानेर बोको रोजिरोजी ।
चढाएको दूध बगेर गएको टुलूटुलू हेरें,
चढाएका बली,
कुकुरले चाटेको, कागले पिएको,
गिद्धले लुछेको, स्यालले घिसारेको,
ट्वाल्ल परेर, अवोध बालक झैं ।
निरापद भएर ।
तर………………………,
तर, हे ढुङ्गा !?
तिमीले देखायौ आफ्नो रूप र गुण,
सकेनौं टिक्न मेरो आस्थाको खोपामा,
भक्तिभाव खपेर, मानसम्मान सहेर ।
भेटी नैवेद्य पचाएर, फूल चन्दन सजाएर ।
खस्यौ मझेरीमा खत्रक्क,
ढुङ्गा भएर, पत्थर बनेर ।
अब………………,
अब तिमी साँधसीमानामा गाडिन सक्छौ,
साँधेढुङ्गा भएर ठडिन सक्छौ,
गुलेलीका मट्याङ्गा बनाइन सक्छौ।
गोठालाले आची पुछ्ने, घासीले हँसिया उध्याउने,
मछुवारले दुवाली बनाउने,
किसानले वाँध लगाउने,
बाढीले यताउता लैजाने ।
र, लात्ती लाग्ने,
साधारण ढुङ्गा मात्र ।
फुटाए गिट्टी बन्ने, जुटाएर पर्खाल बन्ने ।
केवल ढुङ्गै भयौ, पत्थरै भयौ ।
प्रसाद, भेटी र नैवेद्य विहीन भयौ।
फूल अबिर, केसरी र चन्दन बिहीन भयौ ।
मान, सम्मान र ढोगभेट बिहीन भयौ ।
खोपी, बली र पूजा बिहीन भयौ,
खासमा जे थियौ, त्यही भयौ ।
काठमाडौं रचनाः २०७५/११/१८/७
आफ्नो प्रतिक्रिया दिनुहोस् !