एजेन्सी । सिंगापुरमा एक किलो गाँजा तस्करी गरेको आरोपमा तंगराजु सुपैयालाई मृत्युदण्ड दिइएको छ । तंगराजु सुपैयालाई मृत्युदण्डको सजायँ सुनाइएदेखि नै राष्ट्रसङ्घ, समाजसेवी र परिवारले विरोध गर्दै आएका थिए तर पनि ४५ वर्षीय सुपैयालाई बुधवार जेलमा फाँसीमा चढाइयो ।
कमजोर प्रमाणका आधारमा तंगराजु सुपैयालाई दोषी ठहर गर्दै उनलाई सीमित कानुनी सहायता उपलब्ध गराइएको सामाजिक अभियन्ताले बताएका थिए । सिंगापुर प्रशासनले भने कानुनको पालना गरेको बताएको छ ।
प्रशासनले अदालतको निर्णयमाथि प्रश्न उठाउने कार्यकर्ताहरूको आलोचना गरेको छ । सिङ्गापुरमा विश्वकै सबैभन्दा कडा लागु औषध विरोधी कानुन छ । सिंगापुरका अधिकारीहरूले समाजको सुरक्षाका लागि यो आवश्यक भएको बताएका छन् । तर सामाजिक कार्यकर्ताहरूले यस प्रकारको मृत्युदण्डको विरोध गर्दै आएका छन् ।
tangraju1 के थियो आरोप ?
सिंगापुरबाट मलेसियामा एक किलो गाँजा ओसारपसार गरेको आरोपमा ४६ वर्षीय तंगराजु सुपैया दोषी ठहर भएका थिए ।
उनी गाँजासहित पक्राउ नपरे पनि यो तस्करीको मुख्य योजनाकार उनी नै रहेको अभियोजन पक्षले बताएका थिए । सरकारी वकिलले ट्रेस गरिएका दुई वटा मोबाइल नम्बर पनि तंगराजुकै भएको बताएका थिए ।
तर तंगराजुले यस विषयमा आफूले अन्य व्यक्तिसँग कुरा नगरेको दाबी गरेका थिए । उनको एउटा फोन हराएको र अर्को फोन पनि आफ्नो नभएको भन्दै आफूमाथिको दाबी अस्वीकार गरेका थिए ।
गत वर्ष पनि २२ अप्रिल २०२२ मा अर्का लागू औषध तस्कर नागेन्द्रन धर्मलिंगमलाई मृत्युदण्ड दिइएको थियो । तीन चम्चा हेरोइनसहित पक्राउ परेका नागेन्द्रन २०१० देखि मृत्युदण्डको पर्खाइमा थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !