इजरायल-हमास अस्थायी युद्धविरामको तेस्रो दिन थप १४ जना इजरायली र तीन जना अन्य देशका बन्धकलाई हमासले छाडेको छ भने इजरायलले पनि थप ३९ जना प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ।
मुक्त हुनेमा चार वर्षकी एक बालिका पनि छन्। उनी अमेरिकी र इजरायली दुवै नागरिकता भएका व्यक्तिकी सन्तान हुन्। यसैबीच हमासले इजरायलसँगको युद्धविरामको समय बढाउन खोजिरहेको बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले पनि बन्धकहरू घर फर्कन पाऊन् भनेर उक्त युद्धविरामलाई थप लम्ब्याउन चाहेको बताएका छन्।
हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था समेत अहिलेसम्म अज्ञात छ। यसैबीच हमासले पछिल्लो युद्धमा उत्तरी गाजा ब्रिगेडका प्रमुखसहित आफ्ना चार जना सैन्य कमान्डरहरू मारिएको घोषणा गरेको छ। इजरायलले ती कमाण्डरहरूलाई यस सङ्घर्ष विरामअघि निशानामा पारिएको जनाएको छ।
यसअघि दोस्रो चरणमा शनिवार ढिलो गरी हमास नियन्त्रणमा रहेका थप १३ जना इजरायली र चार जना थाई बन्धकहरू रिहा गरिएका थिए। इजरेलले समेत थप ३९ जना प्यालेस्टिनी बन्दी रिहा गरेको जनाएको छ। यसअघि इजरायलले गाजामा पठाइएका मानवीय सहायता सामग्री रोकेको भन्दै हमासले उनीहरूलाई मुक्त गर्न ढिलाइ गरेको थियो।
कतार र इजिप्टको मध्यस्थतापछि उनीहरूलाई मुक्त गर्न सहमत भएको हमासले उनीहरूलाई रेडक्रस समक्ष हस्तान्तरण गरेको हो। कतारले मध्यस्थता गरेको इजरायल-हमासबीचको चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर गर्ने सम्झौताअन्तर्गत हमासले छाड्ने इजरायली बन्धकहरूको तेबर सङ्ख्यामा इजरायलले प्यालेस्टिनी बन्दीहरू छाड्ने गरेको छ।
द्विपक्षीय सहमतिअनुसार शुक्रवार हमासले १३ इजरायली, १० थाई र एक फिलिपिनोसहित २४ बन्धकलाई मुक्त गरेको थियो भने इजरायलले ३९ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो। अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १,२०० जनाको ज्यान गएको थियो भने २४० जनालाई उसले बन्धक बनाएर लगेको थियो।
त्यसयता इजरायलले गरेको हमलामा १४,५०० जनाभन्दा बढी मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। दुवै पक्षले युद्ध नसकिएको भन्दै लडाइँ पुनः सुरु हुने बताए तापनि अमेरिकी राष्ट्रपति जो बाइडनले अस्थायी युद्धविराम लम्बिन सक्ने वास्तविक सम्भावनाहरू रहेको बताएका छन्। इजिप्टले समेत दुवै पक्षबाट अस्थायी युद्धविराम ‘एक वा दुई दिनले’ लम्बिन सक्ने ‘सकारात्मक सङ्केत’ पाएको जनाएको छ।
गाजाको अवस्था
शुक्रवार युद्ध सुरु भएयता सबैभन्दा धेरै सङ्ख्यामा मानवीय सहायता बोकेका गाडीका लस्कर गाजातर्फ गएका थिए। तिनमा इन्धन, खाद्यान्न र स्वास्थ्य सामग्रीहरू समावेश थिए। शनिवार समेत इजिप्टतर्फको रफाह नाकामा बिहानैदेखि सहायता सामग्री बोकेका गाडीहरू गाजा प्रवेशका लागि तयार भएर बसेका थिए।
लगातार दोस्रो दिन इजरेलले चार-चारवटा डिजेल र खाना पकाउने ग्यास बोकेका ट्याङ्कर गाजा प्रवेश गर्न दिएको थियो। इजरायल डिफेन्स फोर्सेस आईडीएफले शनिवार २०० ट्रकहरू त्यसतर्फ जाने अपेक्षा गरिएको जनाएको छ । एकजना राष्ट्रसङ्घीय प्रवक्ताले गाजामा आपत्कालीन रूपमा सबै खाले सहायता आवश्यक रहेको बताएका छन्।
गाजामा मानिसहरू बसिरहेका सार्वजनिक भवनहरूमा निकै भिडभाड देखिन्छ। राष्ट्रसङ्घीय सहायतासम्बन्धी निकायले विद्यालय र अन्य भवनहरूमा गरेर झण्डै १० लाख विस्थापितहरू बसिरहेका जनाएको छ। गाजामा धेरै मानिसहरूले आफूले लगाइराखेकै लुगाका भरमा मात्र भाग्नु परेको अवस्था बताएका छन्।
धेरै मानिसहरू राम्ररी हातमुख धुन समेत पाइरहेका छैनन्। अस्थायी युद्धविराम सुरु भएपछि प्यालेस्टिनीहरू आफ्ना ध्वस्त भएका घर पुग्दै भग्नावशेषमा बचेका हुनसक्ने आफ्ना उपयोगी सामानहरू खोजिरहेका देखिन्छन्।
इजरायल र हमासलाई अस्थायी युद्धविरामको अर्थ के छ?
इजरायल नयाँ चरणको अभियानका लागि जुटेको छ र नागरिकहरूसँग कसरी व्यवहार गर्ने भन्ने विषयमा कुनै सहमति भएको छैन। हमासका लागि लडाइँ रोकिनुको केही रणनीतिक लाभ समेत रहेको बताइन्छ। हप्तौँको सकसपूर्ण लडाइँमा इजरायली पक्षसँग भिडे तापनि यसले हमासलाई केही उल्लेख्य क्षति समेत पुर्याएको छ।
युद्धविरामको समयलाई हमासले आफ्नो चेन अफ कमाण्डलाई पुन: स्थापित गर्न, बन्दोबस्तीका सामानहरू जुटाउन र लडाकुहरूलाई इजरायली फौजलाई बढ्ता क्षति पुर्याउन सकिने ठाउँमा सारेर तैनाथ गर्न प्रयोग गर्नसक्ने देखिन्छ। यस समयले उनीहरूलाई बाँकी रहेका बन्धकहरूलाई इजरायलले छुटाउन कठिन पर्ने ठाउँमा सार्ने अवसर दिन सक्छ।











आफ्नो प्रतिक्रिया दिनुहोस् !